
- Advertisement -
काठमाडाै । थारु समुदायको नयाँ वर्ष २६४९ आजबाट सुरु भएकाे छ । थारू समुदायले १ माघलाई नयाँ वर्षका रूपमा मनाउँछन् । विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम गरी तीन दिनसम्म माघे संक्रान्ति मनाउने प्रचलन छ । गत वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने भएकाले थारू समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षका रूपमा लिने गरेका हुन् । यो जातिले यस वर्ष थारू संवत् २६४९ का रूपमा मनाउँदै छन् । माघे संक्रान्तिलाई स्वतन्त्रता पर्वका रूपमा समेत लिइन्छ ।

- Advertisement -
पश्चिम तराईमा कमैया मुक्ति हुनुभन्दा पहिले कमैया बस्ने–नबस्ने निर्णय पनि माघे संक्रान्तिमा हुने गर्दथ्यो । अधिया खेत जोत्नेलाई खेतबारी दिने या नदिने निक्र्योल पनि माघे संक्रान्तिका अवसरमा हुने गर्छ । त्यसैले माघे संक्रान्तिलाई सामाजिक सद्भाव, मेलमिलाप, स्वतन्त्रता र सांस्कृतिक पर्वका रूपमा लिइन्छ । माघे संक्रान्तिको मुख्य परिकार चामलको ढिक्री, अनदी चामलको रोटी, जाँड, रक्सी र मासु हो । सखरखण्ड, घुइँया, तरुल पनि उसिनेर खाने परम्परागत चलन थारू जातिमा अहिले पनि विद्यमान छ । थारू समुदायमा १ माघबाट मघौटा नाच सुरु हुन्छ । दिनभर घर र गाउँका छिमेकीको घरमा माघी मनाएका युवायुवती बेलुकीपख गाउँका मटावाको घरमा भेला भएर नाच सुरु गर्छन् । नाच्ने युवायुवतीले मघौटा नाचमा रुपैयाँ–पैसा लुट्ने र लुटाउने प्रचलन छ । माघे संक्रान्तिको दिन थारू जातिले वर्ष दिनभर आफूले भोगेको दु:ख–सुखलाई गीतमार्फत प्रस्तुत गर्छन् ।

- Advertisement -
