
- Advertisement -
काठमाडौं । माघ १९ ।। अखिल (क्रान्तिकारी)ले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनिएका कलेजहरूले जारी गरेका अवैधानिक शैक्षिक प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता दिँदै आएको विषयप्रति गम्भीर आपत्ति जनाउँदै पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
संगठनले सोमबार पाठ्यक्रम विकास केन्द्रका निर्देशकलाई ज्ञापनपत्र बुझाउँदै आधारभूत मापदण्डसमेत पूरा नगरेका कलेजहरूको प्रमाणपत्रलाई समकक्षता दिनु शैक्षिक माफियाको ठगीलाई वैधानिकता दिनु सरह भएको आरोप लगाएको छ । ज्ञापनपत्रमा भनिएको छ, “विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त भनिएका कलेजहरूले सञ्चालन गरेका कार्यक्रमहरू त्रिविका पाठ्यक्रमसँग अधिकतम रूपमा नमिल्ने, पाठ्यभार र अवधि नपुगेको, न्यूनतम प्रवेश योग्यता पूरा नभएको, ट्रान्सक्रिप्टमा परीक्षा मिति, क्रेडिट ट्रान्सफर तथा ल्याटरल इन्ट्रीबारे स्पष्ट विवरण नखुलाइएकै अवस्थामा समकक्षता प्रदान गरिएको छ ।”
अखिल (क्रान्तिकारी)का अनुसार त्रिभुवन विश्वविद्यालयलाई नेपालमा डिग्रीको मान्यता तथा समकक्षता प्रदान गर्ने केन्द्रीय अधिकार रहे पनि गैरकानुनी र अपारदर्शी रूपमा दिइँदै आएको समकक्षताले स्वयं विश्वविद्यालयलाई नै शंकाको घेरामा पारेको छ । संगठनले हचुवाको भरमा वा विशेष स्वार्थका कारण समकक्षता दिइएको आशंका समेत व्यक्त गरेको छ ।
यो पनि पढ्नुहोस

- Advertisement -

- Advertisement -
ज्ञापनपत्रमा QAA प्राप्त नगरेका तथा आधारभूत शैक्षिक मापदण्ड पूरा नगरेका कलेजहरूले जारी गरेका प्रमाणपत्रलाई तत्काल समकक्षता दिन बन्द गर्न माग गरिएको छ । साथै, नेपालबाहिर सञ्चालित यस्ता कलेजहरूको प्रमाणपत्रलाई समकक्षता दिने प्रक्रियामा समेत कडा मापदण्ड लागू गर्न त्रिविलाई आग्रह गरिएको छ । संगठनका विश्वविद्यालय विशेष प्रदेश समिती संयोजक विरेन्द्र नेपालीले हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा त्रिभुवन विश्वविद्यालयले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने भन्दै मागहरू वेवास्ता गरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । अखिल (क्रान्तिकारी)ले शैक्षिक क्षेत्रमा मौलाउँदै गएको ठगी, अनियमितता र व्यापारीकरणविरुद्ध संघर्ष जारी रहने जनाएको छ ।





- Advertisement -