राष्ट्रपतिद्धारा माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गरेको थियो । सोही अनुसार, राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको सचिवालयले जानकारी गराएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो । जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’

Comments (0)
Add Comment