सांसद शाहीलाई प्रधानमन्त्रीको जवाफ- अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संसदमा नियमित प्रश्नोत्तर हुन्छ । मंगलबार प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा प्रचण्डले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन् । मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका विषयहरुको मन्त्रीहरुले जवाफ दिने क्रम चलिरहेको छ ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने थियो । तर उनी विदेश भ्रमणमा रहेका कारण प्रधानमन्त्री प्रचण्ड आफैं जवाफ दिन गए । उनको जवाफपछि सांसदहरुले पूरक प्रश्न सोधे ।

राप्रपाका सांसद ज्ञानेद्र शाहीले नेपालमा प्रधानमन्त्री छ कि छैन ? रुसी सेनामा भर्ना भएका नागरिक ल्याउन सरकारले के पहल गरिरहेको छ भनेर सोधेका थिए । आफैंमाथि प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने क्रममा ‘यहाँ हुनुहुन्छ कि हुनुहन्न ?’ भनेर प्रश्नकर्तालाई खोजे ।

विपक्षी बेञ्चमा रहेका शाहीले हात उठाएर आफू संसदमै रहेको संकेत दिएपछि प्रचण्डले भने, ‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ ।’

नेपाली नागरिक सरकारले पठाएर रुसी सेनामा नगएको भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र युद्धमा मारिनु दुःखद भएको उनले बताए । नेपाल फर्काउने विषयमा रुसी सेनामा भर्ना भएकाहरुसँग समेत राय लिएको उनले दाबी गरे ।

प्रचण्डले भने, ‘अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु राति १२ बजे रुसी सेनाको लडाइँ मोर्चामा भएकाहरुसँग फोनमा कुरा गर्ने गरेको छु ।’

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...